लोड हुँदैछ…
Logo

नेपाल सरकार

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

२०८३ आश्विन २९ गते बिहीबार
मुख्य मेनु
/ हाम्रो बारेमा

हाम्रो बारेमा

अध्यावधिक मिति २०८३ जेठ २५ गते सोमबार

नेपाल सरकारको अध्यागमन सम्बन्धी नीति, कानुन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरी अध्यागमन व्यवस्थापन गर्ने प्रमुख निकायका रूपमा अध्यागमन विभागको स्थापना भएको हो। यस विभागले अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ तथा प्रचलित अध्यागमन सम्बन्धी कानुनी व्यवस्थाअनुसार आफ्नो कार्यसम्पादन गर्दै आएको छ।

अध्यागमन विभाग अन्तर्गत देशका विभिन्न प्रवेश तथा प्रस्थान विन्दुहरूमा स्थापित अध्यागमन कार्यालयहरूमार्फत नेपालमा विदेशी नागरिकहरूको आगमन, बसोबास तथा प्रस्थान सम्बन्धी कार्यहरू सञ्चालन हुँदै आएका छन्। साथै, अध्यागमन सम्बन्धी केही सेवा तथा कार्यहरू परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरूबाट समेत सम्पादन हुने गरेका छन्।

विभागले विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि भिसा उपलब्ध गराउने वा प्रवेश स्वीकृति प्रदान गर्ने, भिसा अवधि थप गर्ने, नियन्त्रित तथा निषेधित क्षेत्रमा भ्रमण वा पदयात्राका लागि अनुमति प्रदान गर्ने, विदेशी नागरिकहरूको नेपालमा हुने उपस्थितिको व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने लगायतका कार्यहरू गर्दै आएको छ। यसका अतिरिक्त नेपाली नागरिकहरूको वैदेशिक आगमन तथा प्रस्थान व्यवस्थापन, अध्यागमन अपराधको अनुसन्धान तथा कानुनी कारबाही, निष्काशन तथा अध्यागमन अभिलेख व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारीहरू पनि विभागले निर्वाह गर्दै आएको छ।

विभागका प्रमुख कार्यहरू:
अध्यागमन कार्यविधि, २०६५ को परिच्छेद २ को दफा २.२ बमोजिम विभागका मुख्य कार्यहरू देहायबमोजिम रहेका छन्:

  • विदेशी नागरिकहरूलाई आवश्यक नेपाली भिसा उपलब्ध गराउने तथा सोका लागि आवश्यक व्यवस्था मिलाउने।
  • प्रचलित कानुन बमोजिम भिसाको अवधि थप गर्ने।
  • नेपाली वा विदेशी नागरिकको माग बमोजिम आगमन तथा प्रस्थान प्रमाणित गरिदिने।
  • विदेशी नागरिकलाई नियन्त्रित पदयात्रा क्षेत्रमा प्रवेशका लागि पदयात्रा अनुमति प्रदान गर्ने।
  • आवश्यकताअनुसार पदयात्रा अनुमति वा भिसा रद्द गर्ने।
  • विदेशी नागरिकहरूको नेपालमा हुने उपस्थितिको अनुगमन, व्यवस्थापन तथा नियन्त्रण गर्ने।
  • नेपाली नागरिकहरूको नेपालभित्र आगमन तथा नेपालबाट प्रस्थानलाई व्यवस्थित गर्ने।
  • जाली राहदानी वा जाली भिसाको प्रयोग, निष्काशित अवधिमा पुनः नेपाल प्रवेश, मानव तस्करी तथा अन्य अध्यागमन अपराधको अनुसन्धान तथा तहकिकात गरी कानुनबमोजिम मुद्दा दायर गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने।
  • विदेशबाट निष्काशित वा प्रवेश अस्वीकार भई आएका व्यक्तिहरू तथा तिनका कागजातहरूको आधिकारिकता परीक्षण गरी आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढाउने।
  • कुनै अभियोगमा सजाय भोगिसकेका वा अध्यागमन ऐन तथा नियमावली विपरीत कार्य गरेका विदेशी नागरिकलाई कानुनबमोजिम प्रस्थान वा निष्काशन गर्ने।
  • निष्काशित विदेशी नागरिकहरूको अभिलेख अद्यावधिक गरी सुरक्षित राख्ने।
  • अध्यागमन ऐन, नियमावली तथा प्रचलित कानुन विपरीत भएका अन्य कार्यहरूको अनुसन्धान गरी आवश्यक कारबाही गर्ने।

अध्यागमन विभाग सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अध्यागमन प्रणालीको विकासमार्फत नेपालको राष्ट्रिय सुरक्षा, पर्यटन प्रवर्द्धन, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको छ।

अध्यागमन कार्यालयहरुको सुची

थप सूचनाहरु